Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्न छुटाउनुभयो कि नेपालका पछिल्ला यी प्रमुख खबरहरु

नेपाल अपडेट : पढ्न छुटाउनुभयो कि नेपालका पछिल्ला यी प्रमुख खबरहरु


काठमाडौं । मोरङमा आक्रोशित भीड नियन्त्रणका क्रममा प्रहरीको हत्या भएको घटना, एमाले पोलिटब्युरो बैठक, रेडपाण्डाको छालासहित पक्राउ, बढ्दो क्रममा रहेको खाद्यान्नको आयात, म्यादी प्रहरी बन्न देखिएको भीडभाड र युवा आकर्षण बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

मोरङको लेटाङमा आक्रोशित भीडको आक्रमणबाट महिला प्रहरीको मृत्यु
मोरङको लेटाङ–५ मा आक्रोशित भिडको आक्रमणमा परेर एक महिला प्रहरीको ज्यान गएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । गम्भिर घाइते हुनुभएकी श्रेष्ठको कोसी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको मोरङ प्रहरीले जानकारि दिएको हो । शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि आइतबार विद्यालयमा यसबारे छलफल राखिएको थियो । छलफल भइरहँदा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि प्रहरी परिचालन गरेर आक्रोशित भीड नियन्त्रण गरिएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आक्रोशित स्थानीयको भीडले प्रहरीमाथि आक्रमण गर्दा अरु केही प्रहरी घाइते भएको बताउनुभयो । प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको र अहिले लेटाङ आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो ।

एमालेको पोलिटब्युरो बैठक, के होला निर्णय ?
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पोलिटब्युरो बैठकमार्फत स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्दैछ । कार्की बैंक्वेट बबरमहलमा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुने पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभएको छ । यही चैत ९ र १० गते काठमाडौँमा तय भएको केन्द्रीय कमिटीको तेस्रो बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो । यसअघि नै एमालले स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट भई जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीबाट भई सोबारे प्रदेश कमिटीले निर्णय गर्ने सचिवालयको निर्णय छ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयनको सिफारिश जिल्ला र प्रदेश कमिटीले गर्ने र सोबारे केन्द्रले निर्णय गर्ने सचिवाललयको प्रस्ताव छ ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक वोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेको प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । होटलमा प्लाष्टिकको बोरा भित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखी १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखी १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने छ ।

बढ्दै नेपालमा खाद्यान्न आयात
चालू आर्थिक वर्षको सात महिनामा नेपालमा आधा खर्ब भन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि माघ मसान्तसम्ममा ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको पाइएको हो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि यति ठूलो परिमाणमा खाद्यान्न आयात भएको भन्सार विभागले जानकारि दिएको छ । सात महिनामा १९ अर्ब २२ करोड ४३ लाख ५५ हजार रुपैयाँको चामल आयात भएको छ । यस्तै, १३ अर्ब ४४ करोड ३ लाख ६१ हजार रुपैयाँको मकै समेत आयात भएको विभागको तथ्यांकले देखाएको छ । सरकारले उत्पादकत्व बढएर भर निर्भरता हटाउने दाबी गरिरहँदा खाद्यान्न, तरकारी लगायतको आयात बढ्नुले नेपालको भरनिर्भरता बढ्दो क्रममा रहेको देखाएको छ ।

म्यादी प्रहरी बन्न युवापुस्ताको किन छ आकर्षण ?
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएसँगै देशभर अस्थायी जागिरे बन्न युवाहरुको भीड लागेको छ । भारतीय पुलिसमा आवेदन दिएका, छनौट हुन नसकेका, बैदेशिक रोजगारीको तयारीमा रहेकादेखी घरमै बसिरहेकाहरु समेत यतिबेला म्यादी बन्न हतारिएका छन् । बेरोजगार बस्नुभन्दा म्यादी प्रहरीमा भए पनि काम गर्छु भन्दै आउनेहरुको जमात निकै ठूलो देखिएको छ । सिलाइको काम सिक्दा सिक्दै छाडेर म्यादी प्रहरीमा भर्ना हुन आउनुभएकी दिलमाया विश्वकर्मा हुन वा मकवानपुर घर भई विदेश जाने तयारीसहित काठमाडौँ बस्दै आएका दीपेन्द्र विष्ट । यी सबै ३०–४० दिन काम गर्दा राम्रै पैसा आउँछ भने किन नगर्ने भनेर भर्ना हुन आएको दाबी गरिरहेका छन् । म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समयमा आवेदन दिन सकिनेछ । यहि योजना अनुसार प्रहरीले आइतबारबाट देशभर भर्नाका लागि दरखास्त लिने काम सुरु गरेसँगै भीडभाड देखिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको बाक्लो उपस्थिति देखिएको छ । प्रहरीमा जागिर खान मन हुँदा हुँदै उमेरका कारण भर्ना हुन नपाएकाहरूदेखि रोजगारीको खोजीमा भौंतारिएकासम्म म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन लाइन लागेका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता समेत रहनुभएका एसपी दिनेश मैनाली प्रहरीको पोसाक लगाएर देशको सेवा गर्न चाहने जो–कोहीका लागि म्यादी प्रहरी अवसरजस्तै बनेको बताउनुहुन्छ । बेरोजगारी एउटा मुख्य समस्या भए पनि प्रहरीप्रति युवा पुस्ताको आकर्षण बढ्दै छ भन्ने शंकेत म्यादी प्रहरीमा देखिएको आकर्षणले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6