Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एकै ठाउँमा पढौँ नेपालका यी प्रमुख ५ खबरहरु

नेपाल अपडेट : एकै ठाउँमा पढौँ नेपालका यी प्रमुख ५ खबरहरु


काठमाडौं । विदेश पठाइदिने भन्दै करोडौँ ठग्ने पक्राउ, ४६ प्रकारका विभिन्न वस्तु विदेशबाट नेपाल ल्याउन गरिएको कडाइ, तारे होटल र क्यासिनोमाथी मन्त्री आलेले थालेको कारबाही, बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउन भैरहेको पहल र मौसमी प्रणाली बारेको ताजा अपडेटसहित नेपालका प्रमुख ५ खबरहरु यस्ता छन् ।

विदेश पठाइदिने भन्दै दुई करोड ३१ लाख ठग्ने एक महिला पक्राउ
विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी कान्ति राना गुरुङले जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीका आधारमा उनलाई स्वयम्भुबाट पक्राउ गरेको हो । आरोपितको कोठामा छापा मार्दा २१ वटा राहदानी, नाता प्रमाणित प्रमाणपत्र, अविवाहित प्रमाणपत्र, प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका कागजात बरामद भएको प्रहरीले जानकारि दिएको छ । अहिलेसम्म कान्ति गुरुङबाट ठगिएका ३६ जना व्यक्ति सम्पर्कमा आएका र उनीहरुबाट दुई करोड ३१ लाख रुपैयाँ ठगेको पाइएको छ । अरु व्यक्तिलाई पनि ठगेको हुन सक्ने शङ्कामा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्या(द लिएर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर टेकुले जानकारि दिएको छ ।

४६ प्रकारका वस्तु आयातमा कडाइ
नेपाल राष्ट्र बैंकले सक्खर, चिनी, चुइगम, मिनरल वाटर, बियर, चुरोट, खैनी, रक्सी, कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो । विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न सर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र (एलसी) खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ । बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा ब्याज प्रदान गर्न नपाइने, कतिपय सामानका आयातकर्ताबाट शतप्रतिशतसम्म क्यास मार्जिन लिन बैंकहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, रक्सी तथा भिनेगर, निजी गाडी (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर लगायतका सामान रहेका छन् ।

याक एण्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत रद्ध
रोयल्टी नबुझाएको भन्दै सरकारले दरबारमार्गमा रहेको याक एण्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत रद्ध गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रोयल्टी नबुझाएको भन्दै इजाजत खोसेको हो । होटलले करिब ४२ करोड रुपैयाँ रोयल्टी बुझाएको छैन । राज्यलाई बुझाउनुपर्ने रकम पटकपटक ताकेता गर्दा पनि नबुझाएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेले पाँच तारे वर्गीकरण र क्यासिनो इजाजत रद्ध गर्न निर्देशन दिनुभएको हो । सरकारले २०४८ सालमा क्यासिनो सञ्चालनको इजाजतपत्र दिएको थियो ।

५ वर्षदेखी ११ वर्ष उमेरका बालबालिकाका खोप ल्याइदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको जानकारि दिनुभएको छ । मन्त्री खतिवडाले विद्यार्थीहरूलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउँदा दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्री खतिवडाले सरकार कोरोनाविरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीहरूलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी सङ्गठनले भूमिका खेल्नुपर्ने बताउँदै ५ वर्षदेखी ११ वर्षसम्मका बालबालिकाका लागि समेत फाइजर खोप ल्याउन पहल भैरहेको बताउनुभयो । अबको केही दिनभित्र नै तेस्रो चरणको रूपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको मन्त्री खतिवडाले बताउनुभयो ।

नेपालको मौसम सुधार हुँदै अब गर्मी बढ्ने
पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएसँगै यो प्रणालीको प्रभाव हटेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हटेकाले अब केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले जानकारि दिनुभयो । हिजो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा भएको थियो । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । अब वर्षा र हिमपात हुने अर्को प्रणाली नआए गर्मी बढ्दै जाने आँकलन गरिएको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तराईका जिल्लाका केही ठाउँमा हुस्सु, कुहिरो लागेको भएपनि बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6