अमेरिकी सांसद र २०० भन्दा बढी संस्थाद्वारा नेपालीलाई टीपीएस दिन माग
अमेरिकी कंग्रेसका ५७ सांसद र २०० भन्दा बढी संघ–संस्थाले अमेरिकामा रहेका नेपालीलाई अस्थायी संरक्षित स्थिति (टीपीएस) प्रदान गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष माग गरेका छन्।
सांसदहरू जुडी चु, ग्रेसी म्याङ र राजा कृष्णमूर्तिको नेतृत्वमा सेप्टेम्बर २४ मा राष्ट्रपति ट्रम्प र अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) का सचिव मार्कवेन मुलिनलाई पत्र पठाउँदै नेपालमा आएको विनाशकारी बाढीपछि नेपालीलाई टीपीएस दिन आग्रह गरिएको हो।
पत्रमा सन् २०२६ अगस्ट २६ मा हिमपहिरोपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीले १६ लाखभन्दा बढी मानिस प्रभावित भएको उल्लेख छ। नेपालमा उद्धार, राहत र पुनर्निर्माणको काम जारी रहेकाले नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउनु उचित नहुने सांसदहरूको भनाइ छ।
नेपालमा यस विपद्पछि १ हजार ४५१ जनाको शव फेला परेको र ५ हजार ७८० भन्दा बढी मानिस अझै बेपत्ता रहेको विवरण पत्रमा उल्लेख छ। बाढीले घर, सडक, पुल, विद्यालय तथा जलविद्युत् संरचनामा समेत ठूलो क्षति पुर्याएको जनाइएको छ।
सांसदहरूले अमेरिकामा रहेका नेपालीका परिवारसमेत विपद्बाट प्रभावित भएको उल्लेख गर्दै टीपीएस प्रदान गर्न वा त्यसो गर्न नसकिए योग्य नेपालीलाई लागू हुने अन्य अस्थायी संरक्षण उपलब्ध गराउन आग्रह गरेका छन्। उनीहरूले उद्धार र पुनर्निर्माण जारी रहेका क्षेत्रतर्फ नेपालीलाई जबर्जस्ती फर्काउने प्रक्रिया अस्थायी रूपमा रोक्नसमेत माग गरेका छन्।
टीपीएस अमेरिकामा रहेका योग्य विदेशी नागरिकलाई आफ्नो देशमा युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण सुरक्षित रूपमा फर्कन नसक्ने अवस्थामा अस्थायी रूपमा बस्न र काम गर्न अनुमति दिने व्यवस्था हो।
नेपालले सन् २०१५ को भूकम्पपछि टीपीएस पाएको थियो। तर अमेरिकी सरकारले यस वर्ष उक्त संरक्षण अन्त्य गरेपछि हजारौँ नेपाली प्रभावित भएका छन्।















तपाईको प्रतिक्रिया