Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आज : बैदेशिक रोजगारीको समस्या समाधानको पहलदेखी विश्व रेकर्डको यात्रसम्म (पढ्नैपर्ने ५ खबर)

नेपालमा आज : बैदेशिक रोजगारीको समस्या समाधानको पहलदेखी विश्व रेकर्डको यात्रसम्म (पढ्नैपर्ने ५ खबर)


विदेशमा नेपाली श्रमिकलाई अलपत्र पार्ने क्रमलाई रोक्न ‘मार्सल टोली’
भिजिट लगायतका विभिन्न भिसामा विदेशी भूमिमा पुगेर पुर्याएर अलपत्र पार्ने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मार्सल टोली’ गठन गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका विभिन्न देशमा नेपाली नागरिकलाई अलपत्र पारेको भन्दै आउने उजुरी बढ्न थालेपछि मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरी नेपाल प्रहरीको समेत सहभागितामा दोषी उपर कारबाहीको प्रक्रिया अघि बढाइएको हो । भिजिट भिसामा नेपालीहरूलाई यूएई, साउदी लगायतका देशमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेपछि यसअघि नै गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा भिजिट भिसाले निम्त्याएको समस्या बारे अध्ययन गरी ठोस् कार्य योजना बनाउन कार्यदल गठन गरिएको थियो । गुनासो र उजूरीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयमा ९८२३२५६७०४, ९८२३२५६७०६ नम्बर सम्पर्क गर्न सकिन्छ भने मन्त्रालयको कल सेन्टर ९७७१५९७००८ वा ११४१ नम्बरमा २४ सैं घण्टा फोन गरेर आफ्नो समस्या र गुनासो टिपाउन आह्वान गरिएको छ ।

मन्त्रीसँगै यातायात सेवा कार्यालयका बिचौलियाले घुस मागेपछि..
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल बिहिवार एकान्तकुनास्थित यातायात कार्यलयको अनुगमनमा पुग्दा सेवाग्राहीले आक्रोश पोखिरहेका थिए । मन्त्री दाहाल, सचिव सहित दलबलका साथ यातायात कार्यालयमा पुग्दा बिचौलिया भने तितरबितर भएका थिए । तर, छिटफुट सक्रिय भएका बिचौलियाले मन्त्री दाहालसँगै तपाईको काम गर्नुपर्ने हो भने १५०० दिनुहोस् लाईनमा बस्नुपर्दैन भन्दै घुस मागे । आफैले खुलेआम घुसको अफर सुनेका र सेवाग्राहीको आक्रोश झेलेका मन्त्री दाहालले यातायातका प्रमुख र कर्मचारीलाई निर्देशन दिदै भन्नुभयो, बिचौलिया निषेध गर्नु । तर कर्मचारी भने सुधारको प्रतिबद्धता गर्न छाडेर अभावै अभावमा काम गर्नुपरेको बाध्यता सुनाउँदै थिए । मन्त्री दाहालले अहिले उपत्यकाका ५ वटै यातायात सेवा कार्यालय सहित बागमती प्रदेशका अन्य कार्यालयको अनुगमन जारि राख्नुभएको छ । यातायात क्षेत्रको बिक्रिति सुधार्ने प्रतिबद्धतासहित अनुगमनमा निस्किनुभएका मन्त्रीले वास्तवमै सुधार गर्नुहुन्छ वा चर्चा र लोकप्रियताको स्टन्ट यसका लागि भने प्रतिक्षा बाँकी नै छ ।

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन ५ दिन विद्यालय खुला
विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिनसम्म विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन आग्रह गरिएसँगै विद्यालय खोलिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक गाडीको जोर–बिजोर हट्यो
गएको माघ ७ गतेदेखि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा लगाइएको जोर–बिजोर प्रणाली आजबाट हटाइएको छ । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ट्याक्सी र निजी गाडीमा जोर–बिजोर यथावत् राख्दै सार्वजनिक गाडीमा हटाउने निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नयाँ निर्णय यात्रुको चाप र भीडभाड व्यवस्थित गर्न लागू गरिएको बताउनुभयो । बिहिबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

पाँच हजार मिटरभन्दा बढीको उचाइमा गीत रेकर्ड गरेर विश्व किर्तिमान
पाँच हजार मिटरभन्दा बढीको उचाइमा अक्सिजन अभावले बोल्नसमेत समस्या हुन्छ । थोरै हिँड्दा र अलि ठूलो स्वरमा बोल्दा स्वाशप्रस्वाशमा समस्या हुने पाँच हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर पाँच नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन् । पत्रकारिता र कलाकारितामा सक्रिय युवाहरूले सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले किर्तिमानको मान्यता दिएको हो । बुद्धिराज राई (दुर्लभ जन्तरे) ले लेख्नुभएको ‘सुन्दर हिमाल’ बोलको गीतमा डिआर अटुको सङ्गीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ (गजरकोटे) ले साथ दिएको बताइएको छ । स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाउनुभएको छ । रेकडिस्टको भूमिका शिखरजंग श्रेष्ठ (गजरकोटे) ले निर्वाह गर्नुभएको छ । खारेमै छायाङ्कन गरिएको म्युजिक भिडियोको निर्देशन लेखक बुद्धिराज राई (दुर्लभ जन्तरे) ले गर्नुभएको हो। गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम सन् २०२१ सेप्टेम्बर १ मा सम्पन्न गरिएको भएपनि गिनिज बुकले भर्खरै मान्यता दिएको थियो । यसअघि (हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्ड) शीर्षकमा नेपाली युवाहरू सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको कीर्तिमान भङ्ग भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6