Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमाले महाधिबेशनका कारण सौराहा भरिभराउ, पर्यटकले नोभेम्बर २९ सम्म कोठा नपाउने

एमाले महाधिबेशनका कारण सौराहा भरिभराउ, पर्यटकले नोभेम्बर २९ सम्म कोठा नपाउने

चार करोड रुपैयाँको सम्झौता, १० करोड बराबरको कारोबार हुने अपेक्षा


काठमाडौं, चितवन । कोरोनाका कारण दुई वर्षसम्म सुनसान रहेको मुख्य पर्यटकीय क्षेत्र चितवनको सौराहा यति बेला जुरमुराएको छ । केही समय पहिलेसम्म होटल बुकिङ नभएर निरास बन्दैआएका व्यवसायी अहिले होटलमा बेड नपुगेर तनावमा छन् । सौराहासहित भरतपुर र नारायणगढ क्षेत्रका सबैजसो होटल एकै पटक बुकिङ भएको यो नै पहिलो पटक हो ।

चितवनको होटल पर्यटनमा रौनक थपेको नेकपा एमालेको दशौँ महाधिवेशनले हो । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेर महाधिवेशनको गतिबिधिलाई तिब्रता दिएको छ । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म भए पनि चितवनका लगभग सबैजसो होटल मङ्सिर ९ देखि १३ गतेसम्मकै लागि बुकिङ भइसकेको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।

सौराहाको पर्यटकिय इतिहासमा पहिलो पटक सबै खाले होटलका सबै कोठा बुकिङ भएका छन् । जतिसुकै पर्यटक आएपनि यसरी एकै पटक सबै होटलका सबै कोठा यसअघि कहिल्यै बुकिङ नभएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । साना, मझौला र ठूला गरी सबै खाले होटल एमालेका नेता, प्रतिनिधि, पर्यवेक्षक, सञ्चार माध्यमका प्रतिनिधि र कार्यकर्ताले बुकिङ गरेपनि चितवनका व्यवसायीहरु हौसिएका छन् ।

चार करोड रुपैयाँको सम्झौता, १० करोड बराबरको कारोबार हुने अपेक्षा
क्षेत्रीय होटल सङ्घ र नेकपा एमालेबीच चार करोड रुपैयाँको बुकिङ सम्झौता भइसकेको छ । ‘तीन हजार पाँच सय बेडका लागि हामीले चार करोड रुपैयाँ सम्झौता गरिसकेका छौँ । यसमध्ये ८० लाख रुपैयाँ एडभान्स प्राप्त भइसकेको छ, बाँकी रकम महाधिवेशन सकिएको १५ दिनभित्र दिने सम्झौता भएको छ ।’ क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । देशकै सबैभन्दा ठूलो र महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको एक सौराहामा रहेका सबै होटलमा ६ हजार पाँच सय बेड रहेका छन् । एमालेको महाधिवेशनका लागि बुकिङको अग्रसरता क्षेत्रीय होटल सङ्घ सौराहाले लिएको छ । ६ हजार पाँच सय बेडमध्ये तीन हजार पाँच सय बेड बुकिङको सम्झौता भएपनि बाँकी होटल समेत खाली छैनन् ।

एक हजार बेड एमालेको महाधिवेशनअघि नै अन्य पर्यटकले बुकिङ गरिसकेका छन् । बाँकी दुई हजार बेड पनि एमालेकै नेता, कार्यकर्ताका लागि छुट्याइएको होटल संघका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । एमालेको महाधिवेशनका लागि १० हजार बेड आवश्यक पर्ने अनुमान गरिएको र भरतपुर तथा नारायणगढ क्षेत्रका होटल पनि एमालेका नेता\कार्यकर्ता, शुभचिन्तक, पर्यवेक्षक, सञ्चार माध्यमका प्रतिनिधिलगायतले बुकिङ गरिसकेको बताइएको छ । व्यवसायीले साना होटलको २५ सय, मझौलाको ३५ सय र ठूला होटलका कोठाको मूल्य पाँच हजार रुपैयाँ तोकेका छन् । खाना र खाजाको पनि सहुलियत मूल्य तोकिएको बताइएको छ ।

होटल व्यवसायीहरु महाधिवेशनको अवधिमा चितवनका होटलमा खाना र बस्न गरेर १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिरहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले त यसअघि ठूला दलले गर्ने कार्यक्रममा निःशुल्क खान बस्नका लागि दबाब दिने गरे पनि अहिले एमालेको महाधिवेशनमा होटल व्यवसायीले नगद नै पाएको भन्दै खुसी साट्नुभएको छ ।

१३ गतेसम्म नयाँ पर्यटकहरुले सौराहमा होटल नपाउने
एमालेको महाधिवेशनका कारण सौराहा क्षेत्रका होटलले पर्यटकको बुकिङ नै बन्द गरेका छन् । मङ्सिर ९ गतेदेखि १३ गतेसम्म एमालेको महाधिवेशनकै पाहुना राख्नका लागि अरू पर्यटकका बुकिङ बन्द गरिएको क्षेत्रिय होटल संघले जानकारी दिएको हो । होटलमा हुने विवाह, व्रतबन्धलगायतका भोज, विभिन्न सङ्घ संस्थाका गोष्ठी, सेमिनार, भेलालगायतका गतिविधि पनि रोकिएका छन् । एमाले महाधिवेशनसँगै सौराहाको पर्यटन फेरि जुरमुराउने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभएको छ । ‘देशको सबैभन्दा ठूलो दलको महाधिवेशन एउटा पर्यटकीय नगरीमा आयोजना गर्नु पर्यटन व्यवसायका लागि निकै ठूलो अवसर हो, यसले सौराहाको थप प्रचारप्रसार भएको छ’, पूर्व सीईओ जोशीले बताउनुभयो

कोरोनाका कारण प्रभावित भएको पर्यटन क्षेत्र फेरि उकास्नका लागि यस्ता ठूला–ठूला कार्यक्रम पर्यटकीय क्षेत्रमै गर्दा राम्रो हुने आवाज समेत उठ्न थालेको छ । एमालेको महाधिवेशनपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाललगायतका दलले घोषणा गरेका महाधिवेशन समेत चितवन, पोखरा लगायतका यस्तै पर्यटकीय क्षेत्रमा गर्नुपर्ने सुझाब समेत दिन थालिएको छ । पर्यटन प्रवर्द्धन कसरी गर्ने र पर्यटकलाई कसरी स्वागत गर्ने भन्ने विषयमा देशका अरू पालिकाका जनप्रतिनिधिले सौराहाबाट सिक्ने अवसर पनि एमाले महाधिवेशनले दिने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6