Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आज जे चर्चामा छन्, यी हुन पढ्नैपर्ने प्रमुख ५ खबरहरु

नेपालमा आज जे चर्चामा छन्, यी हुन पढ्नैपर्ने प्रमुख ५ खबरहरु


काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले प्राप्त गरेको शानदार विजय, नेपालले दक्षिण एसियामै पूर्ण खोप लगाएर बनाएको रेकर्ड, तोडफोडमा उत्रिएका सिके राउतका कार्यकर्तामाथी हुन लागेको कारबाही, एकाबिहानै भएको बैतडी बस दुर्घटनासँगै नेपालको मौसमी अवस्था बारेका प्रमुख ५ खबर यस्ता छन् ।

राष्ट्रिय सभा निर्वाचनमा यी हुन विजयी उम्मेदवार
राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि बुधबार भएको चुनावमा पाँच दलीय गठबन्धनका १८ जना उम्मेदवार विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन् । चुनावमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी हुँदा नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह (गरिमा) निर्वाचित हुनुभएको छ । जनता (समाजवादी पार्टी नेपाल)का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा समेत राष्ट्रिय सभामा निर्वाचित हुनुभएको छ । निर्वाचित सबैको कार्यकाल आगामी छ वर्षसम्म रहनेछ । एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाउन सफल भएको छ । आउँदो फागुन २० गतेबाट एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिदैछ ।

दक्षिण एसियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने देश बन्यो नेपाल
सरकारले प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देश बनेको छ, नेपाल । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप निःशुल्क लगाएको छ । ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् । हाल सबै प्रदेशमा कोभिसिल्ड, एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइदैछ । ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ । प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप र ६० प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । वाग्मती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ । कोभिसिल्डको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २९ लाख १७ हजार ३०४ छ भने भेरोसेलको पूर्णमात्रा लगाउनेको सङ्ख्या ७८ लाख २१ हजार ४०६ रहेको छ । यस्तै २३ लाख २४ हजार ८०७ जनाले जोनसेनको पूर्णमात्रा लगाउँदा ४३ हजार २०९ जनाले फाइजरको पूर्णमात्रा लगाएका छन् ।

तेडफोडमा संलग्न सिके राउतका कार्यकर्तालाई कारबाही गर्न निर्देशन
किसान आन्दोलनका नाममा तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश प्रदेश सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीका कार्यकर्ताहरूका हिंसाजन्य गतिविधिप्रति आपत्ति जनाउँदै कारबाहीका लागि निर्देशन दिनुभएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरूको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका थिए । उनीहरूको आक्रमणबाट प्रदेश सांसद् अशोक यादव, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँ, उपमेयर रेणुका पौडेल, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायत घाइते भएका छन् ।

बैतडीमा बस दुर्घटनामा परेर ८ जना घाइते
बैतडीमाको पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–२ रौतगाउँमा ना ७ ख २५७० नम्बरको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ३२ यात्रु सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको बस सडकबाट २० मिटर तल खसेको थियो । चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबारबाट नेपालको मौसम सफा हुने
देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारि दिउएको छ । दिउँसोपछि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ । ती क्षेत्रका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारि दिनुभयो । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसिएको मौसम शुक्रबारदेखी क्रमिक सुधार हुँदै जाने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6