Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आज, पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबर ?

नेपालमा आज, पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबर ?


काठमाडौं । नेपाल टेलिभिजनमा नयाँ नेतृत्व, विशेष अदालतमा न्याय सम्पादनमा हुने ढिलाईको वास्तविकता, संक्रामक बर्डफ्लुको संक्रमण नेपालमा पहिचान भएको बारेको खबरसँगै श्रम मन्त्रालयको मेनपावर ठगी बिरुद्धको अप्रेशन र भरतपुर अस्पतालमा चल्दैआएको सफाई अभियान बारेका प्रमुख ५ खबर यस्ता छन् ।

नेपाल टेलिभिजनको अध्यक्ष बने समीरजंग शाह
नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाह नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सोमबारको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो । रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए । शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् ।

विशेष अदालतमा किन हुन्छ न्याय सम्पादनमा ढिलासुस्ती ?
विशेष अदालतमा सोमबार दुईवटा मुद्दाको पेसी थियो, इजलास भने एउटै । २०७६ वैशाख र जेठमा दर्ता भएका मुद्दा अझै फैसलाकै क्रममा छन् । अझ, एउटा मुद्दाका प्रतिवादी त कारागारमा छन् । सोमबार दुवै मुद्दाको सुनुवाइ प्रतिवादीबाट स्थगित भएपछि विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले कामै पाएनन् । अदालतमा मुद्दाको पेसी स्थगित सामान्य प्रकृया भए पनि समयमा मुद्दाको किनारा नलाग्दा ‘ढिलो न्याय हुनु भनेको न्याय नहुनु’ भन्ने उक्तिलाई प्रश्रय दिने गरेको छ । तर विडम्बना विशेष अदालतमा अहिले तीन न्यायाधीश बस्नुपर्ने इजलासमा समेत दुईजना मात्रै बस्न बाध्य छन् । न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयमात्र विशेष अदालतमा कार्यरत छन् । न्यायाधीश अभाव र जटिल प्रकृतिको अनुसन्धान अभियोजन र फैशला प्रक्रियाका मुद्धा आउने भएकाले विषेश अदालतमा ६ सय ६७ मुद्दा फर्स्यौट हुन बाँकी छ । कानूनमा ६ महिनाभित्र मुद्दाको किनारा लगाउनुपर्ने व्यवस्था भए पनि ६ वर्षअघि दर्ता भएका मुद्दाको समेत फैसला हुन सकेको छैन । गत असारको अन्त्यसम्म विशेष अदालतमा दरबन्दीअनुसारकै ६ जना न्यायाधीश थिए । तर, अहिले दुई जनाको भरमा अदालती सेवा धानिदैआएको छ ।

नेपालमा संक्रामक बर्डफ्लुको जोखिम
पूर्वी नेपालको मोरङस्थित एक पोल्ट्री फार्ममा उच्च संक्रामक मानिएको एचफाइभएनवान बर्डफ्लु संक्रमण पुष्टि भएको विश्व पशु स्वास्थ्य संगठन (ओआई)ले जानकारि दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले पनि भाइरस संक्रमण पुष्टि गरेको छ । मोरङको ग्रामथान–१ खनियाकट्टा र बुढीगंगा–५ का कृषकहरुले पालेको कुखुराको नमुना केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा एचफाइभएनवान बर्डफुल रोग पुष्टि भएको थियो । पेरिसस्थित ओआईको मुख्यालयले पनि मोरङस्थित फार्ममा ३,५१० चरा मरेका छन् भने बाँकी ५,१६० चराको बगाल पनि संक्रमित भएको जनाएको छ ।

श्रम मन्त्रालयको ‘मार्सल टोली’ले थाल्यो ‘स्टिङ अपरेसन’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतवारदेखि संचालन भएको ‘कल सेन्टर’ आएको गुनासोका आधारमा ‘मार्सल टोली’ले ‘स्टिङ अपरेसन’ गरेको छ । काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना ‘कल सेन्टर’मा आएपछि मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले संचालक हेमराज राईसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग एक लाख २० हजार रुपैयाँ लिंदै गरेको अवस्थामा म्यानपावर संचालक राई, म्यानपावर कम्पनीका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको जिम्मा लगाइएको छ । ‘मार्सल टोली’का संयोजक बिष्णु लामिछानेले सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल ‘स्टिङ अपरेसन’ गरिने जानकारि दिनुभयो । आइतबार ‘कल सेन्टर’ सुरुवात गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने बताउनुभएको थियो ।

भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा हरेक साता सरसफाइ अभियान
हरेक सोमवार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गरेको छ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी गर्ने गरेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारि दिनुभयो । यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर सरसफाइको निरन्तरका लागि हो । गत वर्षदेखि सुरु भएको यो अभियानमा अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, मेसु प्रा. डा. कृष्णप्रसाद पौडेलसहित अस्पतालका कर्मचारी र विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति हुने गरेको छ । पछिल्ला केही हप्ता मेसु पौडेलको नेतृत्वमा अस्पतालका कर्मचारी मात्रै सफाईमा सहभागी हुँदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6