Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेटः एकै ठाउँमा पढौँ नेपाल बारेका प्रमुख ५ खबरहरु

नेपाल अपडेटः एकै ठाउँमा पढौँ नेपाल बारेका प्रमुख ५ खबरहरु


काठमाडौं । राजदूत नियुक्तिको मापदण्डमा संसदीय समितिले थालेको पहल, निर्वाचन कार्यतालिकामा निर्वाचन आयोगको तयारी, एमसीसीको बिवादले पछि धकेलिएको संसद बैठक, राप्रपामा आउन लागेको फुट, क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङमाथी राष्ट्र बैंकले गर्दैआएको सूचनावाजीसहितका प्रमुख खबरहरु यस्ता छन् ।

राजदूतको मापदण्ड र योग्यताबारे संसदीय समितिको चासो
राजनीतिक दलको कोटाबाट नियुक्त हुने राजदूतको मापदण्ड र योग्यताबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विज्ञ र परराष्ट्रमन्त्रीसँग छलफल गर्ने भएको छ । समिति सभापति पवित्रा निरौला खरेलले विज्ञ, समिति र परराष्ट्र मन्त्रालयबीच छलफल गरेर मात्र राजदूत नियुक्ति टुंगोमा पुर्याउने तयारीमा लागेको जानकारि दिनुभएको हो । पेशागत राजदूत (करिअर डिप्लोम्याट) बाहेक राजनीतिक कोटाबाट नियुक्त हुने राजदूतबारे संसदीय समिति र विज्ञहरुमार्फत प्रश्न उठ्ने गरेको छ । संसदीय समितिका सदस्यहरुले समेत मापदण्डमा चासो राखेपछि समितिले छलफल गर्न लागेको बताइएको छ । अहिले २० नियोगमा राजदूत पद रिक्त छ भने परराष्ट्र सेवाबाट ७ जनालाई राजदूत बनाउने तयारीमा सरकार जुटेको छ ।

चुनावी सरगर्मीमा तातेको निर्वाचन आयोग
निर्वाचन आयोग स्थानीय तहको चुनावको मिति घोषण भएसँगै कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदा तयार पार्ने काम भैरहेको छ । एक÷दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने प्रवक्ता शर्माले जानकारि दिनुभएको हो । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावे गरेपछि चुनावका काम र गतिविधि अगाडि बढ्नेछन् । मतदाता नामावलीलाई अन्तिम रूप दिने, निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत निर्वाचन आयोगले अगाडि बढाएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ ।

प्रधानमन्त्री देउवाको चाहानामा सारियो संसद बैठक
बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बैठक सार्न आग्रह गरेपछि बैठक स्थगनको सूचना जारी गरिएको हो । संसदको अर्को बैठक फागुन २ गतेका लागि बोलाइएको छ । एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिन यस्तो रणनीति अख्तियारि गरेको बताइएको छ । प्रधानमन्त्री देउवाले मंगलबार साँझ मन्त्री बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गर्नुभएको थियो ।

राप्रपा फुटको संघारमा, कमल थापाले छोडे पाटी
हिन्दुराष्ट्र र राजतन्त्रको एजेन्डा बोकेका विभिन्न पार्टीलाई एकिकृत गरेर बनेको राप्रपा फेरि फुटको सँघारमा पुगेको छ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले मंगलबार गृह जिल्ला मकवानपुरबाट पार्टी परित्यागको घोषणा गरेसगै राप्रपा फेरि एक पटक फुटको सँघारमा देखिएको हो । झन्डै दुई वर्ष अघि राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकिकरण भएसँगै अधिकांश हिन्दुवादी र राजतन्त्र पक्षधरहरु एकै स्थानमा उभिएका थिए । एकिकरण समारोहमा तत्कालिन अध्यक्ष थापाले गीतामा हात राखेर अब पार्टी नफुटाउने वाचा समेत गरेपनि अहिले हारको बदला लिन तोडेका छन् । यता, थापाले गर्न लागेको पार्टी विभाजनमा गत महाधिवेशनमा उनकै प्यानलबाट जितेका पदाधिकारीहरु समेतले साथ नदिने देखिएको छ । राप्रपाको पदाधिकारी बैठकमार्फत अध्यक्ष लिङ्देनले थापालाई पार्टी परित्याग नगर्न आग्रह गर्नुभएको छ । राप्रपाबाट अलग भएको घोषणा गरेका थापा भविष्यमा राजतन्त्रलाई छाडेर हिन्दुराष्ट्रको मात्रै एजेन्डा सहित राजनीतिमा सक्रिय हुन्छन वा विक्राम लिन्छन हेर्न बाँकी नै छ ।
राष्ट्र बैंकले भन्यो–नेटवर्क मार्केटिङमा नलाग्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतका कारोबारबाट राज्य तथा अर्थव्यवस्थामा चुनौती थपिएको दाबी गर्दै गैह्र कानुनी गतिबिधिमा नलाग्न सचेत गराएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जनचेतनामुलक सामग्री प्रकाशित गर्दै क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर गर्ने जानारि गराएको हो । राष्ट्र बैंकले भनेको छ, ‘क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने देखिएको छ, नेटवर्क मार्केटिङको व्यवसायबाट पनि अवैधानिक आर्थिक क्रियाकलाप बढेर जाँदा सरकारी राजस्वमा नकरात्मक असर पर्ने देखिन्छ ।’ राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबारबाट विशेष गरी वित्तीय ग्राहक सुरक्षा र क्यापिटल मुभमेन्टको नियमनमा चुनौती, वित्तीय स्थायित्व, मौद्रिक नीति तथा विदेशी मुद्राको सञ्चितिमा नकारात्मक असर पर्ने दाबीसहित युवा वर्गलाई सचेत गराएको छ । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले बताएको छ । ‘कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समय–समयमा सूचना प्रकाशन गरी आहृवान गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6